(मेरो जीवनमा घटेको यथार्थ र सत्य घटना)
२०८० चैत २३ गते शुक्रबार एकादशीको दिन बिहान घाम लागि सकेपछि मात्र म उठें। बाहिर चम्किला लागे पनि किन किन त्यो दिन मेरो दिलमा घाम लागेन।मन सारै उदास उराठ र खिन्नताले छाएको थियो। प्रिया पनि घरमा थिइनन्।
घरमाछोरा अभिलेख र मेरो जेठान दाजु कृष्णको छोरा कुशल भण्डारी थियो। खाना खाने बेला हुँदै थियो। यसो मोबाइल खोलेको धापासी च्यासिङ्टोलबाट मावली दाजु पर्ने रामचन्द्र पन्थीले केहीमेसेज गर्नुभयो र घरमा आउन भन्नुभयो। म खाना खाइसकेपछि छोरा अभिलेखलाई च्यासिङ टोलसम्म पुर्याउन भने। आज्ञाकारी छोराले मलाई पुर्याइ हाल्यो। बहिनी इन्दिरा र दाजु रामचन्द्रसँग केही गफगाफ गरी हामी अर्का दाजु ऋषभ पन्थीको घरमा गयौं। त्यो दिन एकादशी परेकोले फलफूलकै नास्ता गरी साँझ घर फर्किए। फर्किँदा ऋषव दाजुको घर धापासीदेखि रामचन्द्र दाजुको घर नजिक सम्म दुइभाई गफिदै आयौ।च्यासिङटोलबाट एक्लै हेपाली हाइट हुदै गोल्फूटार आएर बुढानिलकण्ठको बस चढें। बसबाट चपली घुम्टी ओर्ले पछि ओरालो हुदै निबास पासिकोट डाईमण्ड कोलोनी तर्फ मोडिएँ।
त्यो दिन बिहान उठ्दा मन उदास खिन्नता र बाहिर घाम लागेजस्तो नभएता पनि अन्य शारीरिक कमजोरी त्यस्तो केहि महशुस भएको थिएन।तर एक्कासी तल्लो पासिकोट मार्गको प्रगति कोलोनी चोकमा आउदा मेरो शरीर एकदमै भारी भएको, हदभन्दा धेरै थाकेको गलेको महशुस भयो। त्यहीँ पिच सडकमै एकै छिन पछारिउँ जस्तो लाग्दा लाग्दै पनि घरसम्म आइपुगेँ। म घरमा आइपुग्दा साढे चार बजेको थियो। घर आइपुगेपछि कुशललाई बोलाएर अलिकति बिरेनुनमा कागती निचोरेर एक गिलास पानी ल्याइदिन र एक कप चिया बनाएर ल्याउन भने।अनि मैले लगाएको कपडा पनि नखोली बेडरुममा आएर पल्टिएँ। कुशलले पहिले कागती पानी अनि चिया ल्याएर दियो। पानी चिया खाएपछि एकछिन आराम गरेँ। तर त्यतिबेला मेरो शरीर एकदमै बोझिलो भारी चक्कर आए जस्तो वर्णनै गर्न नसकिने कस्तो कस्तो महसुस भइरहेको थियो। मेरो मनमा अनेक खालका तरङ्गहरू आइरहेका थिए। कहाँ जाउँ कहाँ जाउँ के गरौँ के गरौँ कसो गरौँ जस्तो भइरहेको थियो। मन मस्तिष्क र पुरै शरीरमा एक किसिमको नयाँ ऊर्जा प्राप्त भएको अनुभव भएको भयो। बिस्तारामा आराम गर्दै थिएँ। कतिबेला अचेत भएछु पत्तै भएन।
कुशलले आएर भिनाजु भिनाजु भन्दै बोलाएछ। म नबोलेपछि निदाएको सोची ऊ सदा झैं दुध लिन गएछ। दुध लिएर आइसकेपछि ऊ पुन:मेरो कोठामा आई मलाई बोलायो। त्यतिबेलासम्म म पहिलो अचेतन अवस्थाबाट चेतनामा आइसकेको रहेछु। छोरा अभिलेख अमेरिकन एम्बेसीको कार्यक्रममा बाहिर गएको थियो र साँझ घर नआउने कुरा कुशललाई भनेको रहेछ। कुशलले साँझ के खाने के पकाउने भनेर मसँग सोध्यो। त्यतिबेला मेरो शरीरमा एउटा अनौठो परिवर्तन आइसकेको थियो। मलाई कुनै खाने मन थिएन। भित्रका आन्द्राभूडी त के शरीरका पुरै अङ्ग प्रत्यङ्ग हातखुट्टा समेत मुखबाटै उल्टी भएर बाहिर आउलान् जस्तो महसुस भइरहेको थियो। मैले मलाई सन्चो नभएको खान मन नभएको र केही नखाने कुरा कुशलसँग भने। अलि ठिक भए एक गिलास दूध खान्छु भन्दै उसलाई आफ्नो लागि खाना बनाउन भने तर उसले एक्लै खाना नपकाउने त्यहाँ जे छ अरु त्यही खाएर बस्ने कुरा गर्यो। त्यतिबेला मलाई झनै गाह्रो भएको थियो। मेरो मनमा अनेक तरङ्गहरू आएका थिए। मैले कुशललाई मलाई आज धेरै नै सन्चो नभएको कुरा भने।
अनि कुशललाई म आज सायद मर्छु क्या हो धेरै गाह्रो भयो मलाई ख्याल गर्दै गर्नु सम्म भन्न भ्याएँ। अनि कुशलले त्यस्तो केहि हुदैन नआत्तिनु भन्दै दुध तताउँछु भनेर माथि गयो। अनि मैले छोरालाई फोन गरे। उसले घर नआउने कुरा गर्यो। मैले आफूलाई सन्चो नभएको कुरा पनि भने। छोरोले पनि केही हुँदैन त्यस्तो नआत्तिनु बाबा भोलि आइहाल्छु नि भनेर आश्वासन दियो। यसै बीचमा मेरो शरीरमा मैले सोच्दै नसोचेको कल्पनासम्म पनि गर्न नसकेको परिवर्तन आइरहेको थियो।बिभिन्न तरङ्गहरू पैदा भएका थिए कस्तो कस्तो व्यक्त गर्न नसकिने एउटा तितोतितो मिठोमिठो अनुभव जस्तै भएको थियो। मलाई पुरै रिंगाएको घरै घुमाएको शरीर पुरै भारी भएको अवस्था थियो। क्षणभरमै मेरो सम्पूर्ण संसारिक मोह भङ्ग भएको थियो र मलाई लागिरहेको थियो म अब अर्को कुनै दुनियामा जानुपर्छ। मेरा पाइलाहरूले अर्को दुनियाँको बाटो रोजिरहेका थिए।
मनमा यस्तो एउटा उत्साह र उमङ्ग आएको थियो।तँ अब यो दुनियामा होइन अर्को दुनियामा जानुपर्छ भन्ने भावनाले उत्प्रेरित गरिरहेको थियो। साँच्चै भन्दा मलाई सहर्ष मर्न रहर लागेको थियो उत्प्रेणा जागेको थियो।अब मैले बल गरेर भएपनि जोड गरेर भएपनि अर्को दुनियामा जानुपर्छ भन्ने लागिरहेको थियो। हर्ष न विस्मातका नयन धाराहरु बगिरहेका थिए। खुट्टाहरू अर्कै दुनियाको बाटो तय गर्न आतुर भइसकेका थिए। मेरो मन मस्तिष्क र मुटु सबैले मृत्युलाई सहर्ष र्स्वीकार गरिसकेको थियो। र शरीरले जोड बल पनि गर्दै थियो।किन मेरो आत्माले यसरी सजिलै मृत्यु स्विकार्दै थियो ? मलाई नै थाहा थिएन तर म अर्कै दुनियामा जान खुशीसाथ तयार थिए।रत्तिभर डराएको थिईन र शरीरले जोड बल गरिरहेको थियो।
यसै बीचमा आफूलाई साह्रै गाह्रो भएकोले मेरा अनन्य मित्र तथा छिमेकी टामलाल पाण्डेका छोरा भतिज शिव पाण्डेलाई फोन गरेर भने शिव तिमी कहाँ छौ ? शिवले घरै छु भनेपछि तुरुन्तै म कहाँ आउन भने शिव पनि तुरुन्तै आइहाले। सायद त्यतिबेला रातिको आठ बज्दै थियो तल गेट लगाइसकेको रहेछ। शिवले फोन गरेर गेट लगाएको कुरा गरे।म बिस्तारामा मृत्युलाई अंगाल्दै थिए। कोठामा कोही पनि नभएकोले ढोका खोल्न भन्नको लागि कुशल भन्दै बेडरुमबाट जनतन उठेर बाहिर जाँदै थिए। लिभिङमा पुग्ने बित्तिकै ड्याम्मै ढलेछु पूर्ण अचेत अवस्थामा।
त्यसपछि बाहिरी दुनियाको कुरा मलाई केही थाहा छैन। म पूर्ण रुपमा अचेत भई लडिसकेको अवस्था थियो। तर मेरो भित्री मनको आन्तरिक चेतनाभित्र एउटा कुरा खुलिरहेको थियो।भौतिक शरीर अचेत अवस्थामा लडिरहेको भएपनि भित्री चेतनाभित्र मैले केही देखिरहेको थिएँ। मेरा आँखा अगाडि स्क्रीनमा केही पर्दाहरू देखिएका थिए।स्क्रिनमा देखिएका पर्दाहरू रातो कालो र हरियो रङका थिए। कालो रङको पर्दामा देखिने चित्रहरू नबुझिने गज्याङ मुजुङ खालका र अमुक जस्ता देखिन्थे। रातो रङको पर्दामा भने मेरा स्वर्गीय हजुरबुवा हजुरआमा ठूलोबाबा ठुलीआमा माइलोबाबा माइलीआमा साइलोबाबा साइलीआमा कान्छोबाबा ठुली फुपु सानी फुपू मावली हजुरबुवा हजुरआमा,आमा तर्फका ठूलोबाबा ठुलीआमाहरू भान्जदाईहरु ससुराबा लगायत मेरा सम्पूर्ण आफन्तीहरू र अन्त्यमा मेरै स्वर्गीय बाबाको उपस्थिति देखिन्थ्यो।
सायद त्यो अर्कै दुनियामा पुगेर मैले मेरा सम्पूर्ण आफन्तीहरुलाई भेटिसकेपछि अन्त्यमा गएर म मेरै बाबासँग बस्नुपर्ने थियो। मैले अनुहार त के फोटोसम्म पनि नदेखेका मेरा हजुरबुवा हजुरआमा ठुलो बाबा ठुली फुपूहरूलाई पहिलोपटक त्यही त्यो रातो पर्दाको स्क्रिनमा देखें।अहिले पनि उहाँहरूको अनुहार मेरो मस्तिष्क भित्र ताजै छ। मैले आफूलाई अर्कै दुनियामा आउन पाएको र आफ्ना समस्त स्वर्गीय आत्माहरुलाई भेट्न पाएकोमा खुसी व्यक्त गरिरहेको थिए। मैले नदेखेको र चिन्न नसकेका मेरा स्वर्गीय हजुरबुवा हजुरआमा ठुलो बाबा ठुली फुपु लगायतलाई मेरो बाबाले माईला ल अव चिन,तैले चिन्नु पर्छ भन्दै चिनाइरहनुभएको थियो। मैले आफन्तीहरू चिन्ने सुवर्ण अवसर पाएको थिएँ। म खुसीले गदगद भएको थिएँ किनकि म बाबाको अगाडि आठ वर्ष पछाडि भेटिन पुगेको थिए।
त्यसपछि स्क्रीनमा टाँगिएको तेस्रो पर्दा हरियो रङको थियो हरियो पर्दामा मेरा जीवित सम्पूर्ण आफन्तहरु थिए। त्यहाँ देखिने सबै आफन्तहरु आआफ्ना काममा व्यस्त भएको देखिन्थ्यो। लाग्थ्यो त्यो कुनै रङ्गशाला कार्यशाला मधुशाला जस्तै थियो सबैको व्यस्तता अनौठो थियो। घरभरि मामाहरू माइजुहरु माईली ठुलीआमा दाजुहरु भाउजुहरु भान्जदाई भाउज्यू बहिनी ज्वाई भान्जभान्जी लगायत अन्य सम्पूर्ण आफन्तहरूको घुइँचो थियो। दाजुले केही लेख्दै हुनुहुन्थ्यो भाउजु खाना बनाउँदै हुनुहुन्थ्यो। भाइले भैसी दुहुदै थियो। बुहारी दुर्गा सालका पातका हरिया दुना टपरीहरू गास्दै थिइन भने बुहारी प्रतिभा छोरा अनुज र नाती प्रयागले ती हरिया दुनाहरुमा आएका आफन्तहरुलाई सर्वत बाढीरहेका थिए। अर्को तिर छोराहरू अंकित अशेष आयूस छोरीहरू अस्मिता एलिनाहरूले विभिन्न तरकारीहरू काट्दै थिए। लाग्थ्यो त्यहाँ ठूलै भोजभतेर हुँदैछ। आमाले सबैलाई आआफ्नै तरिकाबाट खटनपटन गरिरहनुभएको थियो।छोरा अभिलेखले मेरो हातमा समातेर सहारा दिईरहेको थियो। छोरी ईशाले हातमा लौरो लिएर पर क्षितिजतिर भाग्दै गरेको कालो छायाको पछिपछि दौडदै बाबा बाबा भनिरहेकी थिइन।
प्रियाले भने मलाई कहिँ कतै जान रोक्दै थिईन। मेरो बाटोमा अबरोध हाल्दै थिइन।सायद मेरो चिरायूको कामना गरिरहेकी थिईन। यत्तिकैमा मोनालिसाको जस्तो मिल्दो कुनै अमुक कुसुम कलिका(फूलको कोपिला)आएर प्रियासंग हाते साङ्गलो गर्दै मेरो बाटोमा कडा अबरोध गरेकि थिइन।म कहिँ कतै जान पाएको थिईन। यि सबै घटनाहरू र परिदृश्यहरू आकाशमा बिजिली चम्केजस्तो जुनकिरीको प्रकाशजस्तो सिनेमाहलको पर्दामा रिल परिबर्तन भए जस्तो मिलिक्क मिलिक्क गरिरहेका थिए। मेरो पूर्ण अचेत भौतिक शरीर भित्र रहेको शुक्ष्म मश्तिस्कमा Hallucination(भ्रम)भैरहेको थियो सायद।मैले यि परिदृश्यहरू बाहिरी चक्षुले होइन आत्मिक चर्म चक्षुले देखिरहेको थिए भनेआबाजहरू पनि हृदयले सुनेको थियो बाहिरी कानले होइन।
भतिज शिब आएपछि शिब कुशल दुबै मिलेर तल पौडेल दाई भाउज्यू पल्तिर कार्कीसर पदमजि भतिज राजन पौडेल लगायत वरपर छरछिमेकीलाई खबर भएछ। अनि कसैले शरीर माडने निधारमा पानीपट्टी लगाउने हल्लाउने जस्ता कार्यहरू पश्यात मेरो हल्का चेत आएछ। अनि श्रीधर मरासिनी झबिन्द्र घिमिरे शिब कुशल मिलेर अस्पताल लाने कार्य भयो। छोरा अभिलेख उतैबाट आयो।तर बाटोमा जादा जादै हात्तिगौडा पुग्दा नपुग्दै पुन: तेर्सोपटक पुर्ण अचेत भएछु।
यति हुदा हुदैपनि एक डेढ घण्टा भित्र ३-३ पटक अचेत हुदा समेत लाग्छ मैले सहर्ष मृत्यु स्वीकार गरेको, कत्ति नडराएको खुशीसग अर्कै दुनियाँमा जान पाईला सारेको देखेर उस्ले पनि हार खाएछ। सोचेहोला कस्तो जेम्तो रहेछ भने होला साश्सत्व मृत्युलाई सहजै र जोडबल लगाएर ग्रहण गर्न सक्ने गोविन्द।सगै लगेनछ छोडेर गएछ निष्ठुरी दैब।अझै कति दुखै दुख र पीडै पीडा दिन चाहेको छ कन्नी? अचेतबाट चेतमा आउदा बर्षे भेलले पर बगरको सुख्खा बालुवामा उछिट्यायर फटफटाई रहेको माछा जस्तै उपेन्द्र देबकोटा मेमोरियल न्यूरो अस्पताल बासबारीको आईसिसियू बेडमा छटपटाईरहेको थिएँ करिब एक हप्ते यात्राका लागि।
-गोबिन्दराज पौडेल
(२०८०१२/३०)
गोबिन्दराज पौडेलद्वारा लिखित सत्य घटनामा आधारित यो सृजनालाई फेसबुक लगायतका सन्जालमा सेयर गरिदिनुहोला - प्रकाशक

मेरो व्यत्तिगत व्लगमा यहाँहरुलाई हार्दिक स्वागत छ । मेरो व्लगमा रहेका सामाग्री के कस्ता लाग्छन कृपया आफ्नो सुझाव सामाग्रीको अन्त्यमा रहेको कमेन्ट बक्स वा मेरो सम्र्पक इमेल आइडीमा दिनुहोला । धन्यबाद ।